---डा. प्रज्ञान ख्वाउजूँ---
क्षयकर पदार्थ भनेको सम्पर्कमा
रहेको कुनै पनि वस्तुलाई क्षति पुराउने वस्तु हो । तेजाब( acid ) र अल्काली( alkali) यस्ता पदार्थमा पर्ने
गर्छन । यस्तो पदार्थमा सजिलै पहुँच हुने हुँदा आजको समयमा यस्ता पदार्थको सेवन
सामान्य भैसकेको छ । बाथरुममा प्रयोग गरिने टोइलेट
क्लिनर देखि लिएर भान्छामा प्रयोग गरिने विनेगर सबै क्षयकर पदार्थ हुन् । ब्लीचिंग पाउडर , साबुन , बेट्री इत्यादि पनि
यस्ता पदार्थका श्रोत हुन् । दुर्घटनाको कारण
होस् या आत्महत्याको प्रयासको कारण , यस्ता पदार्थ सेवनको घटना आजकल थुप्रै देखिन
पाइन्छ । तर यस्ता पदार्थ सेवनबाट
हुने पीडा तथा प्रतिकूल असरका बारे भने धेरैजना अनभिज्ञ नै छन् ।
एसिड सेवन: तेजाब सम्पर्कमा आएको कुनै पनि वस्तुसंग तुरुन्त प्रतिक्रिया गर्छ
जसले गर्दा उक्त वस्तुमा क्षति पुग्न जान्छ । तर एसिड निकै अमीलो तथा तीखो हुने हुनाले
कसैले पनि यो धेरै सेवन गर्न सक्तैनन् । त्यसैले एसिड सेवन अल्काली सेवनभन्दा कम हानिकारक हुन्छ । साथै एसिडको प्रतिक्रियाबाट ठोस पदार्थ
निस्कन्छ जसले अन्ननलीलाई ढाक्ने काम गर्छ र अरु क्षति हुनबाट जोगाउँछ । तेजाबबाट हुने क्षति खासगरी पेटको पुछार(
pylorus) मा हुने गर्छ ।
अल्काली सेवन: अल्कालीको स्वाद र वासना नहुने भएकोले यसको सेवनको मात्रा
तेजाबभन्दा धेरै हुन्छ । यसले
लाईपोप्रोटिनलाई पगाल्छ जसले गर्दा अल्काली अझ भित्र घुस्न मद्दत पुग्छ । त्यसैले अल्कालीले हुने क्षति तेजाबले हुने
क्षति भन्दा कैयौं गुना बढी हुने गर्छ । यसको क्षति मुख्यत अन्ननली (esophagus) मा हुन्छ ।
सेवनपछिका लक्षणहरु :
·
सास लिनमा कठिनाई
·
रुखो आवाज
·
निल्नमा कठिनाई या
निल्दाखेरि हुने दुखाई
·
पेट दुखाई
·
रगतको वान्ता
·
छातीमा पीडा
सेवनपछि हुन सक्ने प्राणघाती प्रतिकुल
असरहरु:
· अन्ननली या पेटमा छिद्र हुनु
· श्वासनली सुन्निनु
· रगतको कमी हुनु
·संक्रमण हुनु
क्षयकर पदार्थ सेवन
गरेको मान्छेको तुरुन्त उपचार नभए ज्यानलाई पनि खतरा हुन सक्छ । मृत्युको मुख्य कारण या त श्वासनली सुन्निनुले गर्दा हुन्छ
जसले गर्दा बिरामीले सास फेर्न सक्दैनन् , या त अन्ननली या पेटमा हुने छिद्रको
कारण हुन्छ जसले गर्दा संक्रमण छातीमा, पेटमा र त्यसपछि पुरा शरीरमा फैलिन्छ । त्यसैले यस्ता बिरामीलाई निकै ध्यानपूर्वक हेर्नु जरुरी
हुन्छ । यस्ता बिरामीमा निम्न कुराहरु कदापी गर्न हुँदैन : उल्टी गराउनु, पेट सफा
गर्ने पाइप हाल्नु, पेट सफा गर्ने कोइला दिनु ।
यदि यस्ता बिरामीलाई
सास लिनमा कठिनाई भए कृतिम श्वास नली
लगाउनु पर्ने पनि आवश्यकता हुन सक्छ । यस्ता बिरामीको शरीरमा
जलको कमी हुने गर्छ जसले गर्दा रक्तचाप कम हुन गई मृत्यु पनि हुन सक्छ । त्यसैले रक्तनलीबाट जल दिनु जरुरी हुन्छ । पेटको तेजाब कम गर्ने औषधि र एन्टिबायोटिक पनि दिन जरुरी
हुन्छ । बिरामीको अवस्था स्थिर भएपछि अन्ननली या पेटमा
भएको क्षति हेर्न एक्स- रे , इन्डोसकोपि तथा अन्य जांचहरु गरिन्छ । यदी अन्ननली या पेटमा छिद्र भए तुरुन्त अप्रेसन गर्न जरुरी
हुन्छ ।
यस्ता बिरामीहरुलाई पछि गएर अन्ननली खुम्चिएर
सानो हुने समस्या हुन्छ जसले गर्दा खाना खान समस्या हुने गर्छ । यसको लागि शल्य चिकित्सा
समेत गर्नु पर्ने आवश्यकता पर्न सक्छ । साथै यस्ता बिरामीहरुको पेटमा पनि स्थायी
क्षति हुन गई पेटको क्षमतामा कमी आउन सक्छ । अन्तमा यस्ता बिरामीहरु फेरी फेरी
यस्ता पदार्थ सेवन गर्ने सम्भावना पनि हुन सक्छ, त्यसैले मानशिक उपचारको पनि
आवश्यकता रहन्छ ।
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस