728x90 AdSpace

  • अद्यावधिक समाचार

    Wednesday, July 31, 2013

    जन्डिस ( कमलपित्त ) – किन हुन्छ ?

    --- डा. प्रज्ञान  ख्वाउजूँ --- 

    के तपाईंको शरीर पहेंलो देखिन थालेको छ ? शंका लागेमा एकपल्ट आँखाको सेतो भागमा जांच गरी हेर्नुस त तपाईंलाई जन्डिस लागेको हुन सक्छ साथमा और कुनै समस्याहरु त छैनन् ? ज्वरो आउने , जीउ दुख्ने  या कमजोरीको महसुस त गर्नुभएको छैन ? अनि दिशा- पिशाब कस्तो आउँछ ? सेतो दिशा या गाढा पहेंलो पिशाब त आउँदैन ? शरीर निकै चिलाउन त थालेको छैन ? होश पुर्याउनुस , यो तपाईंको कुनै खतरनाक रोगको संकेत हुन सक्छ


    जन्डिस आफैमा एउटा रोग होइन , यो त कुनै अर्को रोगको संकेत हो ? यो त शरीरको क्रिया- प्रक्रियामा आएको खलबलीको सूचना हो ? यो सूचना लिन जति ढीलो गर्नुहुन्छ त्यति नै तपाईंको शरीरको आयु कम हुँदै जान्छ त्यसैले यो संकेतको बारेमा सामान्य जानकारी राख्न निकै जरुरी छ

    जन्डिसमा शरीर पहेंलो देख्नुको कारण हो शरीरमा भएको बिलिरुबिन ( Bilirubin ) तत्व बढ्नु बिलिरुबिन रगत नष्ट भएपछि आउने उत्पाद हो रगतमा भएको हीमोग्लोबिन ( hemoglobin )  तत्व हीम ( heme )  र ग्लोब्युलिन ( globulin) मिलेर बनेको हुन्छ रगत पुरानो तथा जीर्य भएपछि शरीरमा यसको नष्ट गरिन्छ र नतिजाको रूपमा हीम र ग्लोब्युलिन निस्कन्छ हीमलाई अझ नष्ट गरि फलाम तत्व र बिलिवर्दीन ( biliverdin ) मा विभाजन गरिन्छ ग्लोब्युलिन र फलाम तत्व शरीरमा पुनः प्रयोग गरिन्छ भने बिलिवर्दीनबाट अक्सिजन निकाली बिलिरुबिन बन्छ  यसरी निस्केको बिलिरुबिन शरीरको लागि विषाक्त हुन्छ , त्यसैले यसलाई फ्याक्न जरुरी हुन्छ तर बिलिरुबिन पानीमा नघुलने भएको हुनाले यो पिशाबबाट शरीर बाहिर निस्कन्न त्यसैले कलेजोमा यसलाई ग्लुकुरोनिक एसिड ( glucuronic acid ) संग मिलाप गरी बिलिरुबिन ग्लुकुरोनाइड ( bilirubin glucuronide ) मा परिवर्तन गरिन्छ र बाइल ( bile ) को रुपमा पित्तको नली हुँदै आन्द्रामा फालिन्छ आन्द्रामा यसले खाना पचाउन सहयोग गर्छ आन्द्राको ९०% जति बाइल फेरी शरीरमा शोषिन्छ र पुनः कलेजो हुँदै आन्द्रामा पाचनक्रियाको लागि फालिन्छ यसरी शरीरमा बिलिरुबिन पदार्थको मात्रामा सन्तुलन राखिन्छ शरीरको यो सन्तुलन खल्बल्याउने कुनै पनि रोगले शरीरमा जन्डिस गराउँछ

    बिलिरुबिनको मात्रा व्यानडेन बर्ग प्रक्रिया ( van den berg reaction) द्वारा मापन गरिन्छ । यसले प्रत्यक्ष र अप्रत्यक्ष बिलिरुबिन ( direct and indirect bilirubin ) को मात्रा माप गर्छ । प्रत्यक्ष बिलिरुबिन भनेको कलेजोमा परिवर्तित बिलिरुबिन ग्लुकुरोनाइडको मात्रा हो र अप्रत्यक्ष बिलिरुबिन भनेको अपरिवर्तित बिलिरुबिनको मात्रा हो । रगत बढी नष्ट भएमा अप्रत्यक्ष बिलिरुबिन बढ्छ भने पित्तको नलीमा रुकावट भएमा प्रत्यक्ष बिलिरुबिन बढ्छ । शरीरमा बिलिरुबिनको सामान्य मात्रा ०.३-१.० mg/dl हुन्छ र यो भन्दा बढी भए जन्डिस भनिन्छ । यदि बिलिरुबिनको मात्रा ३ mg/dl  भन्दा बढी भएमा छाला तथा आँखाको सेतो भागमा पहेलोपन देखिन्छ । 

    छोटकरीमा भन्नु पर्दा जन्डिस निम्न  तीन कारणले हुन्छ :
    ·      रगतको बढी नष्ट भएर ( hemolytic jaundice ) :  विभिन्न रक्तअल्पत्ता गराउने रोगहरु ( जस्तै thalassemia, hereditary spherocytosis, sickle cell anemia ) , लीड विषाक्तिकरण , भारी मात्रामा रगत प्राप्त गर्नु , शरीरभित्र रगत जाम हुनु इत्यादि
    ·         कलेजोको रोगको कारण ( hepatocellular jaundice ) :  कलेजोको जन्मजात रोगहरु ( जस्तै criggler najjer syndrome, gilbert syndrome, rotor syndrome, dubin Johnson syndrome ) , कलेजोको संक्रमण ( हेपाटाइटिस ए – एच ) , कलेजोको क्यान्सर , कलेजो शिरोशिस ( liver cirrhosis ) , नवजात शिशुको जन्डिस ( neonatal jaundice ) इत्यादि , औषधिको कारण हुने जन्डिस
    ·         पित्तको नलीमा रुकावट भएर ( obstructive jaundice ) : पित्तको नलीको पत्थर , पित्तको नली या थैलीको क्यान्सर , प्यान्क्रियासको क्यान्सर , प्यान्क्रियाटाइटिस ( pancreatitis ) , cholangitis इत्यादि

    माथिको सूची अनुरुप जन्डिसका कारणहरु थुप्रै छन् र सबको बारेमा जानकारी राख्न सम्भव पनि हुन्न तैपनि यदि केही रोगहरुको बारेमा सामान्य जानकारी राखे तपाईंले आफ्नो जीवनमा हुने ठुलो दुर्घटना पन्छाउन सक्नु हुनेछ विशेषगरी यदि जन्डिस लागेमा यो क्यान्सरको कारण हो या होइन थाहा पाउन जरुरी छ यदि साथमा खानामा रुची नलाग्ने भएको छ , धेरै तौल घटेको छ , सेतो दिशा आएको छ या शरीर चिलाउने गरेको छ भने यो क्यान्सर हुने ठूलो सम्भावना हुन्छ र यस्तो बेलामा चांडो भन्दा चांडो चिकित्सककहाँ देखाउन जरुरी हुन्छ । यस्तो जन्डिस पित्तको नलीमा रुकावट हुनाले हुन्छ त्यसैले  यस्तो रोगमा प्रत्यक्ष बिलिरुबिनको मात्रा बढ्ने गर्छ । चाँडो शल्यचिकित्सा गरेको खण्डमा यसको उपचार गर्न सकिन्छ । पित्तमा भएको पत्थर पनि जन्डिसको सामान्य कारण हुन् जसमा प्रत्यक्ष बिलिरुबिन बढ्छ । यसको लागि एन्डोस्कोपी  र शल्यचिकित्साको आवश्यकता रहन्छ ।

    यदि साथमा ज्वरो आउने , जीउ दुख्ने , नाक बग्ने संकेतहरु छन् भने यो हेपाटाइटिस हुने सम्भावना बढी रहन्छ । यस्तो जन्डिस कलेजोको प्रक्रिया गर्ने क्षमतामा कमी हुनाले हुन्छ त्यसैले यसमा प्रत्यक्ष र अप्रत्यक्ष बिलिरुबिन दुवै बढ्छ । हेपाटाइटिस को जन्डिस आफै ठिक पनि हुन सक्छ या यसले कलेजोलाई खराब पनि गर्न सक्छ , त्यसैले सतर्कता अपनाउन आवश्यक हुन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’ फोहोर खाना र पानीको माध्यमबाट सर्ने हुनाले वातावरणमा स्वस्थता ल्याउन जरुरी रहन्छ , साथै परिवारको अन्य व्यक्तिलाई संक्रमणबाट जोगाउन पनि जरुरी हुन्छ ।  हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’ रगत , सुई तथा यौन सम्पर्कबाट सर्छन् । यी रोगहरु धेरै समयसम्म शरीरमा रही कलेजोमा क्षति पुर्याउन सक्षम हुन्छ र कलेजोको क्यान्सर गराउन पनि सक्षम हुन्छ , त्यसैले यसको लामो समय सम्म उपचार गराउन आवश्यक पर्न सक्छ ।


    यदि तपाईं पहिलेदेखि कुनै औषधिको सेवन गरिरहनु भएको छ भने त्यो औषधि पनि जन्डिसको कारण हुन सक्छ । खासगरी टि. भी. को औषधि , दौराको औषधिहरु, दुखाइको औषधिहरु  यसका सामान्य कारणहरु हुन् । यदि साथमा रक्तअल्पत्ता छ भने सोहि रोगको उपचार गराउन जरुरी हुन्छ अन्तमा भन्नु पर्दा यदि तपाईंलाई बाल्यकालदेखि नै जन्डिस लाग्ने गर्छ भने तपाईलाई जन्मजात रोग लागेको हुन सक्छ जसको लागि तपाईंले लामो समयसम्म उपचार लिन पर्ने हुन्छ
    • Blogger Comments
    • Facebook Comments

    0 प्रतिक्रिया:

    Post a Comment

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: जन्डिस ( कमलपित्त ) – किन हुन्छ ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top